• प्राधिकरण : ८११७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४८२२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८२८ मे.वा.घन्टा
  • आयात : ६६ मे.वा.घन्टा
  • निर्यात : ६९३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २५८३३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४३४ मे.वा.
×

तामाकोसी शिलन्यासका १० वर्ष र थाति रहेका सपनाहरू !

२०७८ जेठ ९

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको करिब डेढ दशक नाघिसकेको छ । सिभिल निर्माणको ठेक्कापट्टा भएर शिलन्यास भएकै आज १० वर्ष ५ दिन पुगेको छ । २०६८ साल जेठ ४ गते आयोजनाको शिलन्यास गर्न तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल आयोजनाको विद्युत्गृहस्थल गोंगर पुगेका थिए ।

शिलन्यासका क्रममा उनले भनेका थिए– तामाकोसी जलविद्युत् विकासमा ‘कोसेढुंगा’ साबित हुनेछ । त्यतिबेला आयोजना निर्माणस्थलमा सयौंको भीड थियो । सर्वसाधारण स्थानीयबासीदेखि सबै राजनीतिक दलका नेता कार्यकर्ताले माहोल तताएका थिए । त्यहाँ उपस्थित हुने सर्वसाधारणमा उमंग, उल्लास र विकास देख्न पाउने उत्कट अभिलाषा देखिन्थ्यो । यही चाहना राख्ने स्थानीयहरू दुर्गम गाउँबाट घन्टौं पैदल हिँडेर पनि आएका थिए ।

त्यतिबेला एक जना तामाङ महिलाले सुनाएकी थिइन्– हाम्रो प्रधानमन्त्री आको छ रे हेर्न आएको । तामाकोसी बनाउँछ भन्छ । कसरी बनाउँछ त्यो पनि हेर्न आएको ।

साँच्चिकै ती निर्दोष असाक्षर महिलादेखि सामान्य साक्षरहरूको सपना थियो/छ, तामाकोसी । यो आयोजनाले दोलखा जिल्लामा त विकासको ढोका खोल्छ नै सिंगो मुलुकको आर्थिक विकासको गतिलाई तीव्रता दिन्छ भन्ने आमपरिकल्पना थियो । यी कारणले पनि तामाकोसीको महत्त्व अझै बढेर गएको थियो ।

यो भन्दा ठूलो कुरा, देशकै इतिहासमा यति ठूलो आयोजना स्वदेशी लगानीमा निर्माण हुँदै थियो । यसले एउटा आत्मसम्मान, स्वाभिमान र आत्मनिर्भर हुने चाहनालाई संगठित गर्दै लगेको प्रतीत हुन्थ्यो । विदेशी (नर्वे) ले उछिट्ट्याइसकेको आयोजना ‘आफैंले निर्माण गर्नुपर्छ’ भन्दै पहल गर्नेमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक अर्जुनकुमार कार्की, दोलखा नेपाली काँग्रेसका लोकप्रीय नेता भीमबहादुर तामाङ लगायत केही कर्मठ व्यक्तिको योगदान छ ।

आयोजनाको अध्ययन २०६० सालदेखि सुरु भएको थियो । नर्वेजियन कम्पनी नर कन्सल्ट एएसले अध्ययन गरी २०६२ साल जेठमा प्रतिवेदन बुझायो । र, आफैंले हत्याउन खोज्यो । तत्कालीन नर्वेजियन राजदूत टोरे टोराङले सरकारका उच्च निकायसम्म लबिङ नै गरेका थिए । तत्कालीन कार्यकारी निर्देशक कार्कीको अडान, प्राधिकरणका उच्च कर्मचारी, जिल्लाबासी राजनीतिक दलको प्रयासमा तामाकोसी स्वदेशी लगानीमा निर्माण हुने दिशामा अगाडि बढ्यो ।

तामाकाेसीकाे अर्काे सुन्दर पक्ष, याे निर्माण चरणमा रहेका र निर्माण भइसकेका आयाेजनाहरूमा सबैभन्दा सस्ताे थियाे । तर, याे भनाइकाे तात्पर्य आज मेल खाँदैन ।

शिलन्यासका क्रममा भनिएअनुसार आयोजना २०७२ सालभित्र निर्माण पूरा गर्ने भनिएको थियो । तर, २०७० सालको साउनमा मुख्य सुरुङको ३.५ किलोमिटरको डिजाइन नै परिवर्तन गरियो । करिब ८ किलोमिटर मुख्य सुरुङको ४ भागमध्ये करिब एक भागको पुरानो डिजाइन परिवर्तन गरिएको थियो ।

पुरानो डिजाइनअनुसार भैंसे अडिटतर्फबाट खनिएको ९२५ मिटर सुरुङ काम नलाग्ने भन्दै त्यतिबेला निकै आलोचना भएको थियो । त्यतिबेला कामु आयोजना प्रमुखको जिम्मेवारीमा रहेका विज्ञानप्रसाद श्रेष्ठले भनेका थिए– पुरानो डिजाइनअनुसार खन्दा ‘रक स्ट्रेस’ भई ४ सय मिटरको वाटर हेड (पानीको प्रेसर) थेग्न नसक्ने हुँदा डिजाइन परिवर्तन गर्नुपर्यो ।

त्यतिबेला आयोजनाका सहप्रबन्धक विमल गुरुङले पनि भनेका थिए– विद्युत्गृहस्थित ‘भर्टिकल पेनस्टक’ पाइपको गलत ड्रिलिङका कारण डिजाइन परिवर्तन गर्नुपर्यो । यही कारण त्यतिबेला आयोजनाको लागत करिब २ अर्ब रुपैयाँ र निर्माण अवधि २ महिना लम्बिने प्रक्षेपण थियो ।

उल्लेखित सबै काम पूरा गरेर २०७२ पुसमा ४ वटा युनिट (३०४ मेगावाट) बिजुली उत्पादन गर्ने लक्ष्य थियो । प्राधिकरणसँग २०६७ पुस १४ गते भएको विद्युत् खरिद सम्झौता (पिपिए) मा पनि सोही कुरा उल्लेख छ । विडम्बना, २०७२ सालको सुरुमै विनाशकारी महाभूकम्प गयो । र, आयोजनाको निर्माण अस्तव्यस्त भयो ।

उता आफ्नो परामर्शबिना संविधान जारी गरेको भन्दै भारतले ६ महिना नाकाबन्दी गर्यो । जसका कारण आयोजना थप अस्तव्यस्त भयो र निर्माण अवधि झन्डै २ वर्ष धकेलियो । यसबीचमा लट–२ अर्थात् हाइड्रो मेकानिकल भारतीय ठेकेदार टेक्सम्याको लिमिटेडले तालिका अनुसार काम नगरेर निकै दुःख दियो । ठेकेदारलाई आयोजना व्यवस्थापनले समयमै दबाब दिएर काम गराउन सकेन ।

भारतीय ठेकेदारबाट समयमै काम नहुने देखिएपछि ३७३ मिटर अग्लो तल्लो पेनस्टकमा पाइप जडान गर्ने काम लट–३ को अष्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइयो । यही समयमा सिभिल ठेकेदार सिनो हाइड्रोका नेपाली कामदारले आफूहरूले पनि जनही ५ सय कित्ता कम्पनीको सेयर पाउनुपर्ने भन्दै १६ दिन निर्माणमा अवरोध पुर्याए ।

यी समस्या समाधान गर्दै निर्माणको नियमित गतिमा फर्केको आयोजनाका लागि अर्को विपत्ति आइलाग्यो, कोरोना महामारी । अहिले निर्माणस्थलमा काम भइरहे पनि डेढ वर्षदेखि काम गिजोलिएको छ । तोकिएको तालिका अनुसार काम भइरहेको छैन । २०७४ सालदेखि नै आयोजनाबाट बिजुली उत्पादन हुन्छ, भइहाल्छ र हुँदैछ भन्ने दर्जर्नौं अभिव्यक्ति आए । तर, यो बोलीमा मात्र सीमित छ ।

२०७७ चैतमा पहिलो युनिट (७६ मेगावाट) सञ्चालन गर्ने लक्ष्य रहे पनि पूरा भएन । निर्माणको करिब पुछारमा आइपुग्दा कोरोनाको चपेटाले आयोजनालाई गिजोलेको छ । यता प्राविधिक परीक्षण गर्ने क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) बाट पानी चुहिइएको छ । यसलाई आयोजनाले सामान्य समस्या ठानेको छ ।

जसका कारण फेरि पनि विद्युत् उत्पादन गर्ने समय धकेलिएको छ । अब कहिलेबाट विद्युत् उत्पादन हुन्छ ? भन्ने प्रश्नको जवाफ आयोजनासँग पनि छैन । आयोजनाका उच्च पदाधिकारीबाट ‘प्राविधिक परीक्षण भइरहेको, कुन बेला के समस्या आउँछ भन्न नसकिने र सुरुङमा पानी हाल्ना साथ बिजुली उत्पादन हुन नसक्ने’ जस्ता भनाइ आइरहेका छन् ।

कतिपय प्राविधिक समस्या अकाट्य हुन्छन् । तिनको कुनै पूर्वानुमान गर्न सकिँदैन । तर, के अब यस्तै बोलेर आयोजना लम्ब्याइरहने त ? अध्ययनदेखि गणना गर्दा तामाकोसीले झन्डै दुई दशक समय खाइसकेको छ । लागत १०० अर्ब नजिक पुगिसक्याे । सस्ताे भनेकाे आयाेजना महँगाे हुँदै गयाे । यता अहिलेसम्म सपना बाँड्ने काममात्र भइरहेको छ । यसैले, अब रातदिन (२४ सै घन्टा) खटेर, निरिक्षण र अनुगमन गर्दै आयोजनालाई छिटाे बिजुली उत्पादनसम्म पुर्याउनुको विकल्प देखिँदैन ।

अब पनि कर्मचारीले यो वा त्यो बाहना बनाइरहने हो र आयोजना पूरा गर्ने समयलाई धकेलिरहने हो भने राम्रो सन्देश जाँदैन । त्यहाँ पक्कै पनि व्यवस्थापन र कर्मचारीको केही न केही बदमासी छ भन्ने अनुमान गर्न गाह्रो हुँदैन । जसका कारण उनीहरूप्रति निगामक निकायको आँखा सोझिनेछ ।

एउटा सानो घटना यहाँ जोडौं; २०७३ असार १४ गते बहुचर्चित सिक्टा सिँचाइको ४५ किलोमिटर पश्चिम मुख्य नहरमध्ये १५ मिटर भत्कियो । त्यस्तै, २०७५ साउन ७ गते अर्को १० मिटरमा समस्या देखियो । यसलाई एक प्रकारले ‘स्क्याण्डल’को रूपमा बाहिर ल्याइयो । र, त्यहाँ काम गर्ने वा अवकास भएर गइसकेका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलायो ।

सिक्टामा कसैले बदमासी गरेको थियो भने त्यसका लागि अख्तियारको कारबाही सही नै हो । तर, यतिसम्म कि सामान्य, कुनै निर्णय तहमा नरहेका र दुई–चार दिन हाजिर गरेका इन्जिनियरसमेतले कारबाही भोग्नुपर्यो । सिक्टाको मुद्दा अझै छिनोफानो भएको छैन । सिक्टामा देखिएको सामान्य भौगोलिक (प्राकृतिक) गल्तीले डेढ दर्जन निर्दोष कर्मचारी (इन्जिनियर) ले अहिले पनि दुःख पाइरहेका छन् ।

तामाकोसीमा पनि काम लम्ब्याइरहने, सानो समस्या भनेर टारिरहने (भलै, प्राविधिक कारणले दुःख दिइरहेको किन नहोस्) हो भने कुनै न कुनै दिन गलत आचरण र भ्रष्ट मानसिकताका मान्छेको दिमाग उल्टो गतिमा घुमिदिन्छ । र, तिनले रातो घरमा उजुरी दर्ता गराउन बेर लगाउँदैनन् । जुन अहोरात्र खटिने, जिम्मेवार र निर्दोष कर्मचारी (इन्जिनियर) का लागि जीवनभर पीडा हुनेछ/भइरहनेछ ।

अतः उल्लेखित पक्षलाई आयोजना व्यवस्थापनले संवेदनशील भएर सोचोस् । तामाकोसी वा त्यहाँ कार्यरत कर्मचारीका लागि दुःखद दिन ननिम्तियोस् ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit