• प्राधिकरण : ७८०९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३६२४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ७९४६ मे.वा.घन्टा
  • आयात : १०१८५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १५ मे.वा.घन्टा
  • ऊर्जा माग : २९५७९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६७१ मे.वा.
×

मध्य बर्खामा पनि माथिल्लो खोरुङ्गा खोलाको उत्पादन २.५ मेगावाट

२०७८ असार १८

काठमाडौं । बर्खा सुरु भई नदी तथा खोलामा पानीको सतह बढ्दा सबै जलविद्युतगृह पूर्ण क्षमतामा चल्न सुरु गर्दछन् । हिउँदमा ३५ प्रतिशतभन्दा कम विद्युत उत्पादन गर्ने जलविद्युतगृहले अहिले जडित क्षमता अनुसारको विद्युत प्रणालीमा दिइरहेका छन् ।

मध्य बर्षासम्म आइपुग्दा ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्र भने कम क्षमतामा चलिरहेको छ । विद्युत प्रवाह हुने प्रसारण लाइनको समस्याका कारण माथिल्लो खोरुङ्गा खोलाको क्षमता घटाएर २.५ मेगावाटमा सञ्चालन गर्नुपरेको हो ।

अहिले विद्युत प्रवाह भइइरहेको ३३ केभी प्रसारण लाइन बर्खामा ‘ओभर लोड’ भएकाले ५ मेगावाट विद्युत खेर गइरहेको प्रवर्द्धक तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । ‘प्रसारण लाइनमा प्रवाह हुने विद्युत ३३ मेगावाट हाराहारीमा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, लाइनको क्षमता ११ मेगावाटमात्रै बोक्न सक्ने छ । यही कारण बढी विद्युत उत्पादन हुने समयमा खेर फाल्नु पर्ने बाध्यता छ ।’

उनले २२० केभी कोसी कोरिडोर प्रसारण लाइन सञ्चालनमा नआउँदासम्म यो समस्याको समाधान नहुने बताए । तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाका जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा हुँदै भोजपुरसम्म पुगेको यो लाइनमा जोडिएको छ ।

हिउँदको सबै उत्पादन प्रवाह गर्न सकिए पनि बर्खामा सधैं विद्युत खेर जाने गरेको छ । अहिले माथिल्लो खोरुङ्गा खोलासँगै संखुवासभामा सञ्चालित १२ मेगावाटका ४, भोजपुरमा सञ्चालित १३ मेगावाटका २  वटा जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत पनि बर्खामा खेर जाने गरेको छ ।

यी जलविद्युतगृहका प्रवर्द्धकले गत वर्ष पनि यो समस्या झेलेका थिए । यो वर्ष ८ मेगावाटको टक्सार पिखुवाको समेत उत्पादन थपिएकाले बर्खामा २२ मेगावाट विद्युत खेर जाने अवस्था आएको छ ।

कोसी कोरिडोर प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगे पनि दुहबी सबस्टेसनको काम सकिएको छैन । दुहबी सबस्टेसन तयार नहुन्जेल कोसी कोरिडोर प्रसारण लाइन सञ्चालनमा नआउने यस क्षेत्रमा सञ्चालित जलविद्युतगृहको उत्पादन यो वर्ष पनि खेर जाने अवस्था छ ।

यी जलविद्युतगृहको विद्युत खपत हुने भोजपुर, तेह्रथुम, धनकुटा र संखुवासभाको विद्युत माग अधिकतम ८ र न्युनतम ३ मेगावाट हाराहारी मात्रै छ । अधिकतम खपत हुने समयमा पनि उत्पादन र खपतबीच ठूलो अन्तर छ । 

देशको विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन उत्पादन भएको सबै विद्युत प्रवाह हुन नसक्ना प्रवर्द्धकले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।  यता माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट विद्युत आयात गर्दा ठूलो धनरासी विदेशिएको छ ।

यस्तै खाले समस्या अधिकांश जलविद्युत आयोजनाले भोगिरहेका छन् । सोलु कोरिडोर पूरा नहुँदा २३.५ मेगावाटको सोलुखोलाको १७ मेगावाट बढी विद्युत १ वर्षदेखि खेर गइरहेको छ । सोलु कोरिडोर निर्माण अन्तिम चरणमा पुगेका आयोजनाले पनि प्रसारण लाइनको समस्या भोग्दै छन् ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit